काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आईतवार सामाजिक सञ्जालमार्फत कतै मलको अभाव महसुस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध समेत गरेका छन्।
‘कृषि मन्त्रालयले दिएको जानकारीअनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने एक लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ’, प्रधानमन्त्री ओलीले उल्लेख गरे।
प्रधानमन्त्री ओलीले कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिएका छन्। उनका अनुसार युरिया मल १६ हजार ५३९ मेट्रिक टन, डिएपी मल सात हजार ६५३ मेट्रिक टन र पोटास मल चार हजार ९१५ मेट्रिक टन कृषि सामग्री केन्द्रमा मौज्दात छ।
यस्तै साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्। युरिया १० हजार ९८४ मेट्रिक टन, डिएपी मल ९४२ मेट्रिक टन तथा पोटास मल एक हजार ७८५ मेट्रिक टन मौज्दात छ।






